Friday, December 11, 2020

म त उहिलेको माहाराज

म त उहिलेको माहाराज 
मसँग के नै थियो र 
मसँग जो थियो 
त्यो त तपाइँहरु नै हो 

तपाइँहरुसँग जे थियो 
त्यो नै त मेरो थियो 
मेरो जति ईतिहास थियो 
तपाइँहरुको त्यो भन्दा कम कहाँ थियो र 

यो देश त हामीले मिलेर बनाएका हौं 
के यहाँ भक्ती थापाको रगत मिसिएको छैन र 
के यहाँ बिसे नगर्चीको सल्लाह मिसिएको छैन र 
अमरसिंह बल्भद्र को साहस मिसिएको छैन र 

के महिला के पुरुष 
को महाराज को जनता 
को तपाइँको पुर्खा को मेरो पुर्खा 
आखीर देश त सबै मिलेर एकीकरण गरिएको हो 

अब मैले के नै भन्न सक्छु र 
म भन्दा तपाइँ  नै बुझ्ने हुनुहुन्छ 
पढेको हुनुहुन्छ साथै संसार बुझेको हुनुहुन्छ 
अब पुर्खाको इज्जत या बेइज्जत के गर्नुहुन्छ 

इतिहासलाइ सिरानी हाली ढोग्नु हुन्छ या 
लात्ताले हानी अन्त कतै फाली दिनुहुन्छ 
यो त तपाइको कुरा हो, एक पटक सोच्नुस 
तपाइको पुर्खाले पक्कै हेरिरहनु भएकै होला 

तपाइँको पुर्खाले जहाँ एक अन्जुली रगत अर्पे
मेरा पुर्खाले त्याहा एक अन्जुली माटो उठाए 
अनि सबै मिलि त्यहा चन्द्र सुर्य फरफराए
आखीर नेपाली जीवन त्यहीबाट त भर्भरायो 

तपाईं मेरो पुर्खालाइ सम्मान गर्नुस या नगर्नुस 
तपाइँ  मेरो पुर्खालाइ सम्झनुस या नसम्झनुस 
तर मेरो पुर्खा तपाइहरुको पुर्खा प्रती गर्व गर्छौ 
र उनीहरु प्रती सदा सदा श्रदाले शिर झुकाउछौं 

तपाइहरुले दिएको मानो खाएर 
तपाइहरुले सिलाइ दिएको लुगा लाएर 
तपाइहरुले बनाइ दिएको घरमा बसेर 
कति छिटो हामीले पुस्तौ पुस्ता काट्यौ 

बिगतमा हामीबाट पनि केही गल्ती भए होलान 
तर हामिले कहिल्यै नेपालको शिर झुक्न दिएनौ 
कसैलाइ हामिले चन्द्र सुर्य च्यात्न दिएनौ 
हाम्रो स्वाभिमानलाई कहिल्यै ढाल्न दिएनौ 

उहिले त हामी एक महाराज थियौं 
हजुरहरुलाइ नि धेरै सजियो थियो 
हामिहरु तिर फर्कियो अनि धारे हात लगायो 
जस जति आफ्नो खल्तिमा राख्यो, अफजस जती हाम्रो टाउकोमा खन्यायो 

आज न त बिद्यालय न त बिश्वबिद्यालयमा 
न त तपाइँहरुको पुर्खाको पढाइ हुन्छ न त मेरो 
के पढाइएको छ के पढिएको छ आज नेपालमा 
तपाइँले कहिल्यै सोच्नुभयो, तपाईंलाई नेपालबारे के थाहा छ 

हिजो यहाँहरुको पुर्खाले हाम्रो पुर्खालाइ   
चन्द्र अनि सुर्यलाई आफ्नो नयन मानी  
एउटा कपडामा आफ्नो रातो रगतले लिपेर
एउटा सुन्दर उपहार दिएर जानुभो 

हो त्यो उपहार यहि चन्द्र सुर्य अंकित हाम्रो झन्डा थियो
यसलाइ हामिले हाम्रो शिरमा दुइसय पचास बर्ष फहराइ राख्यौ  
पुर्खाको बिरासतलाइ पुजा गर्ने या चिहानमा पुर्ने 
आगे यहाँहरुको इच्छा, यहाँहरु सबैलाइ सदैव मेरो सुबेक्षा 

सगरमाथा हाम्रो शिर बनि उभिरहुन 
कोशी र कर्णाली हाम्रो खुट्टा बनी हिडिरहुन /बगिरहुन 
चन्द्र र सुर्य हाम्रो नयन बनी प्रकाश छरिरहुन 
बुद्ध हाम्रो हृदय अनि शिव मस्तिष्कमा बसिरहनुन 

   ----------इतिश्री --------