Tuesday, January 10, 2017

फाटेको जुत्ता फाटेको भोटो, खिच खिच बाबू हामी गरिबको फोटो


फाटेको जुत्ता  फाटेको भोटो
खिच खिच बाबू हामी गरिबको फोटो

पहिले पहिले माहाराजहरु आए
हामिसङ्ग फोटो खिचाए
हाम्रो फोटो देश बिदेश घुमाए
शहरमा आ-आफ्ना महल बनाए

फाटेको जुत्ता  फाटेको भोटो
खिच खिच बाबू हामी गरिबको फोटो

त्यसपछी, विदेशी विकाशे संस्थाहरु आए
हामी र हाम्रा छोराहरुसंग फोटो खिचाए
अनेक योजना र परियोजना बनाए
कागजमा समृद्द कर्णाली बनाए

फाटेको जुत्ता  फाटेको भोटो
खिच खिच बाबू हामी गरिबको फोटो

आजकल त, बिकाशे संस्थाहरु गनिसाध्य छैन, कति आए
हामी र हाम्रा छोरा नातिसङ्ग  फोटो खिचाए
हाम्रा फोटोहरु संसार घुमाए
सबैले आ-आफ्ना महल बनाए

फाटेको जुत्ता  फाटेको भोटो
खिच खिच बाबू हामी गरिबको फोटो

भोटो मेरो यहि हो , उहिले उहिले माहाराजसङ्ग फोटो खिचेको
भोटो मेरो यहि हो, उहिले विकासे संस्थासङ्ग फोटो खिचेको
भोटो मेरो यहि हो, छोरा नाति हुर्काएको
भोटो मेरो यहि हो, बाबुको क्यामाराले किटिक्क गरेको
भोटो मेरो यहि हुनेछ, यो धर्तिमा रहेसम्म

फाटेको जुत्ता  फाटेको भोटो
खिच खिच बाबू हामी गरिबको फोटो

क्यामेरा त बाबुको ठूलो रहेछ
बाबुको संस्थापनी ठूलो न ठूलो होला नि
अनि साच्चै महल झन ठूलो होला नि
मन सानो भएर के भो त बाबू हैन र

फाटेको जुत्ता  फाटेको भोटो
खिच खिच बाबू हामी गरिबको फोटो

कर्णाली त कर्णाली नै रैछ

कति सुने कति सुने
कर्णालीका कथाहरु
कति पढे कति पढे
कर्णालीका ब्यथाहरु

हेर्न मन लाग्यो मलाइ
ती मैले सुनेका कर्णालीका कथाहरु
बुझ्न मन लाग्यो मलाइ
अझै बाकी छन कि छैनन कर्णालिका ब्यथाहरु

काठमाडौंबाट गाडी  चढे
चारदिनमा गमगढी झरे
अनेक भिर पाखा देखे
अनेक नदि नालासंग सात्क्षातकार गरे

फोटोमा देखेका उस्तै उस्तै अनुहार
बोल्दै मुस्कुराउने उहीँ उहि  मुहार
कर्णाली त कर्णाली नै रैछ
जस्तो सुन्या, जस्तो पढ्या, उस्तै रैछ

आकाशकी तारा
धरतीकि रारा
जति हेर्यो उति राम्रो
भन्छन हेर्ने जति सारा

से गुम्बाको तलतिर
से फोक्सोन्डो ताल
त्यै ताललाइ हेर्दा हेर्दै
यो म हुन्छ बेहाल

कति कन्चन कर्णालीको पानी
त्यो भन्दा नि कन्चन कर्णालीको पानी पिउने नानी
कर्णाली त कर्णाली नै रैछ
जस्तो सुन्या, जस्तो पढ्या, उस्तै रैछ

अनेक बाटाहरु हिंडे
अनेक पात्रहरु देखे
ती पात्रहरुको नजर पढे
त्यसैले यो कथा लेखे

बाजुराका छोटे महाराजहरुका नाममा

देश अनुसारको भेष नेता अनुसारको देश। नेपाल किन गरिब भयो भन्ने बिषयमा घन्टौ हैन महिनौ वाइघात बहस गर्न सक्ने तर विकासको नाममा खल्ती भर्न र महल खडा गर्न सक्ने यो देशका नेता र तिनका भरौटे तथा आसेपासेहरुको दबाद र रवाफ हेर्दा एक इमान्दार नेपालीलाई तिनिहरिको अगाडि उभिदा नि आत्माग्लानी हुदोरहेछ । सायद नेपाली नेताहरुमा नैतिकता, आत्मानुशासन र इमान्दारिता खोज्नु भनेको मरुभुमि नेपालमा काकाकुल जनताले पानी खोज्नु सरह हो ।

कथा बाजुरा जिल्ला  कोल्टी नजिकै दासाङ्घुको हो। म र एक पर्यटक साथि रारा घुमेर केही दिनको यात्रा पछि कोल्टि गएर साझ  बास बस्यौ । त्यसपछी खप्तड जाने बिचारले  सोधखोज पछि थाहा भयो । कोल्टीको केही परको दासाङ्घु भन्ने ठाउँबाट मार्तडी जाने जीप पाइने र त्यसपछी आछाम हुँदै डोटिको शिलगुढी भन्ने ठाउमा बसबाट झरेर जानसकिने जानकरी पाएपछी भोलिपल्ट बिहान अङ्ग्रेजी नयाँ वर्षको दिन बाजुराको कोल्टीबाट दासाङ्घु लागियो । स्थानियका अनुसार पन्ध्र मिनेट लाग्ने बताए पनि हामिलाइ अन्दाजी चालीस-पैंतालीस मिनेट लाग्यो। हामी अन्दाजि पौने नौ बजेतिर जीप पाउने ठाउँ  दाङ्साघु पुगियो । हामी त्याहाको काउन्टर खोज्दै हिड्दै थियौ । हामी टिकट काउन्टर कटेर अघि बढी सकेछौ।

त्यसैबिच, एउटा निलो जाकेट लगाएको मान्छे हामिमाझ आए। उनले सोधे , जिप खोज्नु भएको हो ? मैले भने हो । मार्तडी जान्छनी जिप हैन त । उनले मन्द मुस्कान सहित जाने बताए। कतिबजे जान्छ भनेर सोधे। यताबाट जाने बिहानै गैसकेको र उताबाट दुई जीप आउदैछ। पहिलो जीपमा तपाइलाइ पठाइदिउला । हामि कुरा गर्दै काउन्टर अगाडि आयौ र उहाले नजिकैको एक होटलमा होम्रो झोला राखिदिनु भयो र यतै बस्नु भन्नु भयो। हामिलाइ अगाडिको सिट दिनुहोला । उहाले मुस्कान सहित टाउको हल्लाउदै हुन्छ भन्नू भयो । हामी नजिकै उभिरह्यौ । केही बेरको अन्तरालमा केही अरु मानिस पनि आए । उहाहरुले पनि जीपको बारेमा कुरा गर्दै थिए । एकैछिन पछि जीपको काउन्टरको मान्छेले अहिले पैसा दिनुस। मान्छे धेरै छन। हामिलाइ सजिलो हुन्छ। मैले दुइटा हजारको नोठ दिए। उहाँले छसय फिर्ता दिनुभयो । त्यसपछी थाहापाए भाडा एक जनाको सात सय रहेछ।

हामी यता हिड्यौ उता हिड्यौ त्यो सानो ठाउँमा । त्यहाको सबै  पसल नयाँ  र अस्थाइ भएकोले सबै पसल र होटेल जस्ताले बारेर बनाइएको थियो। हामिले पनि एउटामा गएर दहि र रोटि तरकारी खायौं । त्यसपछी आएर जीप कति बजे आइपुग्छ भनेर सोधे ? उहाले बाटोमा भएको र केही छिनमा आइपुग्ने बताए । मैले सोही कुरा फेरि अङ्ग्रेजीमा मेरो साथिलाइ बताए ।  हामी एता उता गर्दै कहिले चिया पिउदै त कहिले केरा किन्दै खादै यता उता गर्दै दिन काट्दै थियौ । जीप आउला आउला आउदैन। फेरि एकपटक सोधे के छ जीपको खबर भनेर । उहाले हास्दै यहि माथी आएर खान खान लागेको र छिटै आउने बताए । पर्खी बस्यौ जिप आउँछ भनी । फर्की हेरि रहेयौ जीप आउँछ भनी। अँखा थाकिरहेका थिए हेर्दा हेर्दै जीप आउँछ भनी । सुर्य आकाशमा परिक्रमा गर्दै थिइन । यता धर्तिमा म यश दाङ्साङ्घु बजारको दसौ पटक जति परिक्रमा गरे होला। सबै हामिलाइ कौतुहलाता पुर्वक हेर्दै थिए भने केहिले कौतुहलाता पुर्वक केही प्रश्न मलाइ गर्दै थिए । मैले उनिहरुले शोधेजतिको उत्तर दिदै हिडे । उस्ले भनी म चाहिँ चिडियाखानामा राखिएको जनावर र तपाइँचाहिँ परिचय पाटिका । यो चाहिँ उसले बारम्बार मैले उच्चारण गरेको  उसको देशको नामले गर्दा यसो भनेकी थिइ ।

हामी फेरि फर्केर काउन्टर छेउमा नै आयौ। जीप आउदै गरेको बताए जीपका कर्मचारिले। खुशीहुँदै त्यहीँको एक पसलमा चिया पिउदै केही घण्टाको अन्तरालमा अन्तै कतै पुग्ने कल्पनामा दुब्यौ । हामि बाहिर आयौ । अझै जीप आएन। यता उता गर्दै रह्यौ । अन्तमा माथि डाडाबाट जीप गुड्डै - गुड्डै हाम्रो अगाडि आएर रोकियो । अब त जान पाइने भयो भन्दै मन मनै खुशी भैयो । घाम पनि उज्यालो र ताप छर्दै पश्चिमतिर आफ्नै गतिमा  हिंडिरह्यो । अब त घामसङ्गै आफु पनि अलि पश्चिम जान पाइने सोच्दै रह्यौ । जीपबाट आएका केही मानिस ओर्लिए । जीपको सबै ढोका एकछिन बन्द गरे । सबै मानिस एक छिन अलमलमा परे । त्यसपछी त्यहाँ  केही नयाँ  मानिस जीपको ढोका छेउमा पुगे । त्यसपछी काउन्टरका स्टाफले ड्राइभरलाइ ढोका खोल्ने इसारा गर्दै को को जाने हो भित्र बस्नुस भने । जो पछि आएर जीप छेउ उभिएका थिए उनिहरु गुरुर्‍अ भित्र छिरे । हेर्दा हेर्दै मैले बिहान नौ बजे भन्दा अगाडि आएर पैसा तिरेर  बुकिङ गरेको सिटमा बिराजमान भए । म चाहिँ मेरो सिटको प्रतीक्षामा रहे । सब चुपचाप हेरिरहे । कोहि केही बोल्दैनन । म दङ्ग छु मलाइ केही थाहा छनै । यहाँ  के भैरहेको छ भनेर । कोइ पनि हाम्रो झोला कोठाबाट निकाल्ने कुरा गर्दैनन। म अलमल्लमा परे । एता उता काउन्टरका मान्छेलाइ हेरे । कतै देखिन , उनी कतै गुप्त बिलिन भएका थिए ।  मैले बिनम्र पुर्वक सोधे हाम्रो सिट खोइ ?  त्यहा कोइ केही बोल्दैन । हेर्दा मान्छेकै आकृतिका देखिन्छन तर ब्यवहार चाहिँ कुनै नदी किनारमा बिराजमान ढुङ्गा प्रकृतिका देखिन्छन । अगाडि सिटमा बसेको एक पुरुष ओर्लिएर एक सिट दिन सकिने कुरा बताए । मैले भने हामी दुई जना छौ र हामिलाइ दुई सिट चाहिन्छ भने । उनी सिटमा बसे एकछिन मलाइ हेरे । म मेरो साथिसङ्ग के भैरहेको बताइ रहेको थिए । अगाडि सिटमा बस्ने महासयले सायद अङ्ग्रेजी बुझ्नुभयो । जीपको शिसा बन्द गर्नुभयो । जीप एकछिन रोकियो । अगाडि बस्ने महासय न्याउरो मुख पार्दै यता उति हेर्दै थिए ।   जीप धुलो उडाउडै अघि बढ्यो । ती भलाद्मी महासयहरु मैले बिहानै किनेको सिटमा बलात्कार गर्दै हुइकिए ।

ती को थिए केहि थाहा थिएन । अकस्मात यस्तो हुदा दुखी थिए । ती को थिए जान्ने उत्सुकता पनि थियो । केहिले लज्जा बोध गर्दै थिए केही मेरो कुराले अलि आक्रोशित पनि देखिन्थे । तर मुख खोलेर बोल्ने आट गरेका थिएनन ।  केही छिन पछि थाहापाए उहाँहरु एमाले पार्टिका अगस्त्यमुनी माहासय हुनु हुदो रहेछ । अस्ताउदै गरेको सुर्यसङ्गै अलि पश्चिम मार्तडी जाने सपनालाइ दिउसै औशिको रात पर्ने अरु कोइ नभएर सुर्य नै चिन्ह लिइ चुनाव लड्ने एमाले पार्टिका नेता । कस्तो बिडम्बना एउता सुर्यबाट अर्को सुर्य माथी बलत्कार । कस्ले सुन्दोरहेछ त जनताको चीत्कार ।

कहिले काहीँ काचका पर्दामा आदर्शका गफ छाट्ने प्रदिप ज्ञावाली, योगेश भट्टराई, गोकर्ण विष्ट लगाएतलाइ यस्ता घटनाले कुरि कुरि गर्छ कि गर्दैन कुन्नी । आगे तपाइहरुकै मर्जी ।  हुनत नेपालमा नेता हुनलाइ निम्नतम योग्यता नै बेइमान, इमान जमान नभएको, बोलिको ठेगान नभएको र अधिक रुपमा गाली र बेइजेत्ती पाच्य रस भएको हुनुपर्दछ ।  नत्र भने त सफत लिनु भन्दा अघि नै राजिनामा दिनुपर्दछ नैतिकताको आधारमा । बिचरा नेपाल माता - नेपाल आमा । मलाइ त यति कष्ठ अनुभव भैराको छ । बिचरा तिमिलाइ कस्तो भाको होला।  यी दुष्टगणले सधै सधै दिउसै रात पारी तिमिलाइ लात मारी तारा गन्दा भित्र भित्रै कति दुखेको होला । कति रोएको होला । कति ओटा गण्डकी, कोशी, कर्णाली बगे होला तिम्रो आखाबाट । यी यहाका कपुत हरुलाइ सायदै थाहा होला । अब त एउता सपूत जन्माउ नेपाल आमा । अब पनि तिमिले कपुतहरुलाइ तह लगाउन सपूत जन्माउन नसके तिमी मर्नेछौ नेपाल आमा । तिमिलाइ यी कपुतहरुले छिट्टै मार्न सक्नेछन । त्यसैले छिटो एक सपूत जन्माइ तिम्रो भक्तकणलाइ रक्ष गर।

देशलाइ राजनितिज्ञ र विभिन्न पार्टीहरुले कसरी दबाव र भयमा राखेका छन भन्ने यो एउता गतिलो उदाहरण हो। अन्तमा सुत्ने  बेलामा होटलका भाइले नरिसाउन आग्रह गर्दै उनी एमालेको उपसभापती भएकोले आफुले केही गर्न नसकेको बताउदै । आफू सुन्ने कोठामा हामिलाइ सुताउदै आफुले सकेको दयाभाव र ममता देखाए । मुरि मुरि धन्यवाद भाइलाइ मीठो खाना र सहृदयको लागि।




कालोलाइ कालो भन्न सक्नुपर्छ

कालोलाइ कालो भन्न सक्नुपर्छ
सेतोलाइ सेतो भन्न सक्नुपर्छ
देशघाती र देशद्रोहिलाइ चिन्न सक्नुपर्छ
यति नि गर्न नसके तपाइको नागरिकताको छानबिन गर्नुपर्छ

यहाँ यस्तो भैसक्यो कि अब
छुट्याउन गाह्रो छ, को देशप्रेमी को देशघाती अब
हेर्दा उस्तै देखिन्छन , बोल्दा उस्तै बोल्छन
भित्र काम एक गर्छन , बाहिर कुरो अर्को

बाहिर बाहिर भाषणमा भन्छन
असली देश भक्त म र मेरो पार्टी हो भन्छन
भित्र भित्रै को को संग के के सम्झौता गर्छन
देशको कार्यकारी पद हात पार्छन

नेता भन्छन , कर्मचारिले टेरेनन
नेता भन्छन , कर्मचारिले काम गरेनन
नेता भन्छन , प्रशासन धेरै सुस्त छ
म भन्छु , नेता र प्रशासकबिच घुसको वार्ता मिलेन

कर्मचारी भन्छन, नेताले अनेक दवाब दिए
कर्मचारी भन्छन, काम गर्ने वातावरण नै छैन
म भन्छु, यिनिहरु देशका कर्मचारी होइनन
म भन्छु, यिनिहरु पार्टी र पारितिरका कर्मछाहारी हुन

अब त कालोलाइ कालो भन्न सक्नुपर्छ
सेतोलाइ सेतो भन्न सक्नुपर्छ
देशलाइ सधै सधैंको लागि जोगाउनुपर्छ
पार्टी , नेता र जनताको नागरिकता फेरि जांचगरिनुपर्छ

पार्टी वा पारी बाट नियुक्ती लिन्छन हाम्रा कर्मचारी
पार्टी वा पारी बाट बढुवा खान्छन हाम्रा कर्मचारी
देश वा जनताको लागि किन काम गर्छन हाम्रा कर्मचारी
जहाबाट नियुक्ती र बढुवा खान्छन उसकै लागी काम गर्छन हाम्रा कर्मचारी

अब त यस्तो भैसक्यो यो नेपालमा
न्याय दिने न्यायधिस पार्टी वा पारिको खल्तिबाट निस्कने
नाम निस्केकै दिन पार्टी वा पारिको कार्यालयमानै भोजको सफत खाने ?
क्या गज्जव छ है हाम्रो नेता, शासक, प्रशाशक र अन्यामुर्तिहरु

आजकल त मलाइ यस्तो लाग्छ
सिंहदरवार मरिसक्यो जनताको लागि
सिंहदरवार अन्तै सरिसक्यो जनताको लागि
अब केवल मात्र बाकी छ, जान जनता मलामी सिंहदरवारको

अब, आश छैन जनतालाइ सिंहदरवारको
यो त जनताको लागि सिंहतरवार भैसक्यो
तरवारले गर्धन रेट्छ, सिंहतरवारले देश
चेतना हुन्याका भया, नहुन्या पराइका खान्या हुन, जानी राख्या राम्रो

अब केवल मेरा एक काम बाकी हुन्या
सर्वच्चो अदालतमा नाङ्गै वाकालत गर्न्या
देशन्याका कुरिकुरी न्यायमुर्तिका सामुन्या राखिदिन्या
आगे कुरा आफै बुझिलिन्या, नबुझेन्याका काशियात्राका टिकट किनिदिन्या