Monday, September 3, 2018

कहाँ पुर्‍याइयो कान्तिपुरिको त्यो बिम्ब

मेरो शहर
नाम एक, काठमाण्डौ
बिम्ब अनेक
प्रतिबिम्ब त कति कति

यो शहरमा आजकल
अनेक थरी वर्षा हुन्छ
के रात के दिन
वर्षा नभाको समय हुन्न

घाम लागे धुलोको बर्षा
पानी परे हिलोको बर्षा
घाम पनि लागे, पानी पनि परे
इन्द्रेणी नै इन्द्रेणीको वर्षा

यो शहरमा म आजकल
धुलोको बर्षामा नुहाउँछु
हिलोको बर्षामा लुगा धुन्छु
इन्द्रेणीको बिस्तारामा सुत्छु

आहा क्या सुन्दर छ मेरो शहर
धुलोको बर्षामा रमेको छ
पोहोर साल भन्दा यो साल जमेको छ
दिनका दिन यस्को कद घटेको छ

बिहानै उठ्छु , पैदल यात्रा जान्छु
धुलोले पेट भरिन्छ हिलोले खल्ती
डम्म छाती फुलाएर हिँड्छु
किनकी धुलोले एक दुई इन्च फोक्सो बढाएकै छ

वर्षा नै बर्षाको शहरमा
गाडी गुड्ने बाटोमा पानी जहाज डुल्छन
चराले गुँड बनाउने रुखमा
धुवाँ र धुलोले गुँड बनाउँछन

ओहो मेरो कान्तिपुरी नगरी
कहाँ पुर्‍याइयो कान्तिपुरिको त्यो बिम्ब
कहिलेकही सपनिमा आउछन त्यो प्रतिबिम्ब
डिम्बनै मरेपछी केको बिम्ब केको प्रतिबिम्ब

No comments:

Post a Comment