हे भक्त काठमाडौँ के गरिरहेको छ
जिउँदै छ या मरिसक्यो
या मर्नलाई घिटीघिटी भइरहेको छ।
एकचोटि गएर हेरेर आउ
भगवान म त त्यहीँबाट आएको
ए हो त्यसो भए के भएको छ त्यहाँ अहिले
महाराज के भएको छैन भन्नुस् न
यहाँ राम्रो बाहेक सबै भएको छ।
अनि त्यो स्लेसमान्तक वन छ कि छैन
म पानी बनी बग्ने बागमती गंगा छिन् कि छैनन्
अनि त्यही छेउमा रहेको मेरो मन बस्ने
मन्दिर,मेरो अर्दाङ्गिनी अथवा पार्वती छ कि छैन
भगवान छ भनुम भने तपाईँले भने जस्तो केही छैन
छैन भनुम भने सबैले हेरिरहेका छन्
म फेरि उही फर्की जानुपर्छ
तर के छ के छैन म कसरी व्याख्या गरौँ
भक्त ल हिँड तिमी र म काठमाडौँ घुम्न जाउँ।
मा यात्रा, तिमी यात्री,
अनि काठमाडौँ हाम्रो दृश्य
सत चित आनन्द हाम्रो उद्देश्य
भगवान काठमाडौँ यही हो।
अनि खोइ त हिमालहरू
जहाँ म ऐना हेर्थे
खोइ त जङ्गलहरू
जहाँ म ध्यान गर्थे
खोइ त रुखहरू
जहाँ मेरा खाना पाक्थे
खोइ त यहाँका पवित्र गङ्गाहरू
जहाँ म स्नान गर्थे
स्नान गर्ने निउमा बगेर कैलाश जान्थे
अनि यहाँ मेरा नन्दी चर्ने चौरहरूको कहाँ गए
जहाँ म घाँस भनी उम्रिन्थे
अनि नन्दी लाई घाँस बनिदिन्थे
उ नै म थियो म नै उ थियो।
या काठै काठको मन्दिर भएको सहर
अहिले के भइरहेको छ
भगवान शहरबाट काठ हरायो
अनि गाउँबाट जङ्गल हरायो।
अहिले काष्ठमाण्डौबाट काठमाडौँ भएजस्तै
काठमाडौँबाट कंक्रिटमाण्डौ भएको छ।
यहाँ के भइरहेको छ कसैलाई थाहा छैन।
यहाँ के भइरहेको छैन पनि कसैलाई थाहा छैन।
यो अचम्मको सहर भएको छ।
यहाँ मन्दिर जाने मनहरु हराएका छन्
मन्दिर जाने मनहरू डराएका छन्
देख्दा जिउँदै देखिए पनि
सबै मनहरू मरिसकेका छन्।
अब यिनीहरूबाट केही आश नगरिए हुन्छ।
यिनीहरू सबै भिसा मात्र पर्खिरहेका छन्।
हो भगवान काठमाडौँ मरिसक्यो।
यसको सुरुवात उहिले उहिले
जङ्गबहादुर राणाले सुरुवात गरेका थिए।
जब उनी युरोपबाट फर्किए
काठमाण्डौँमा केही युरोपेनी स्टाइलका दरबार बनाए
पछि जनताले पनि त्यही सिके
दरबार जस्तै आफ्नै घर बनाए
जनताले त के बिराए
शासकले जस्तो बनाए
जनताले त्यसलाई दोहोर्याए
हेर्दा हेर्दै काठमाण्डौ युरोप भन्यो
काठमाण्डेेेमा बचेका
केही नेवारी घरहरू रुँदै रुँदै उभिरहे
न कसैले आँसु पुछ्यो
न कसैले रोएकै देखे
दशकौँ बिते ती रुँदै उभिएका केही घरहरू पनि
अन्त्यमा केही आफै ढले केही ढालिए
यसरी आफ्नो इतिहास मेटाए
यहाँका मरेका लासहरू स्वास्थ्य फेर्छन्
तर हाम्रो के हो
यिनीहरूलाई केही थाहै छैन
यिनीहरूलाई ट्युसन पढाउन
विदेशीले यहाँ प्रजातन्त्र ल्याइदे
केही आइएनजिओ खोलिदिए
ठूला ठूला अक्षरमा पत्रिकाहरू छापिए
नेपाल अब विकासको शिखरमा पुग्छ
अब नेपाल भव्य सभ्य हुन्छ भने
दशकौँ पिच्छे अनेकौं आन्दोलन भए
आन्दोलन नै पिच्छे
व्यवस्थाहरू फेरिए अवस्था फेरिएन
हामी झन् झन् गरिब हुँदैछौं
आधि नेपालीले नेपाल छोड्दैछन्
तर पनि फेरि ठूलो स्वरमा भन्दैछन
नेपाल बन्दैछ बन्दैछ
उनीहरू नेपाल बन्दै छ भन्दा रहेछन्
म नेपाल बन्द छ, बन्द छ सुन्दो रहेछु
अचम्म, हुन पनि हो
नेपाल कहिले खुला छ र
नेपाल त बन्द नै त छ
मतलब नेताहरूले विदेशमा बन्दकी राखेका छन्।
नेता भारत जान्छन् भारतमा बन्दकी राख्छन्
अमेरिका जान्छन् लालपुर्जा उतै छोडेर आउँछन्।
चाइना जान्छन् उही कुरा दोहोर्याउँछन्।
भगवान यहाँ यस्तै छ
अब मैले भन्न र तपाईंले सुन्न किन बाँकी रह्यो र
अनि यहाँको मठ मन्दिरको हालखबर के छ ?
पहिला पहिला यहाँ
चोकै पिछे मन्दिर हुन्थे
घरभन्दा मन्दिर अग्ला हुन्थे
घरभन्दा मन्दिर धेरै हुन्थे।
आजकालको त के कुरा गरम भगवान
मन्दिर भन्दा अग्ला घर बनाए
घरभन्दा अग्लो आफ्नो अहम बनाए
अनि भन्छन् भगवान भन्दा मै ठूलो
धेरै मन्दिर हराइसके
अथवा कसैकसैको घरले पुरिसक्यो
बाँकी रहेका केही पनि
हराउने डरले कापिरहेका छन्
पुरिने डरले आँखा चिम्म गरेर बसिरहेका छन्
मतलब ध्यान गरिरहेका छन्
भगवान आजकाल मान्छेले ध्यान गर्दैनन्
ध्यान त मन्दिरहरूले गर्छन्
त्यही भएर आजकल
मन्दिरमा भगवानले आँखा खोलेर भक्तलाई हेर्नै सक्दैनन्
किनकि कतिबेला चोरिने हो कतिबेला फोरिने हो
मन्दिर आफैँ डराइरहेका छन्
मन्दिर आफै ध्यानमा हराइरहेका छन्
किनकि भक्त नै छैनन् यहाँ
अनि कहाँ भगवान हुने
भगवान हुन त भक्त हुनुपर्यो नि
भक्त बिना कहाँ भगवान सम्भव छ र
प्रभु यहाँबाट भक्त हराइसके
प्रभु यहाँबाट भक्ति मरिसक्यो
अब के के नै बाँकी रह्यो र
यो मृत सहरमा तपाईँ नि भन्नुस्
अब यहाँ देख्न बाँकी र सुन्न बाँकी
केही भए जस्तो लाग्दैन प्रभु
यहाँबाट प्रकृति भागिसकिन्
अनि प्रकृति बिना पुरुष कसरी रहन सक्छ
त्यसैले प्रभु अब तपाईंले घोषणा गरिदिनुस्
यो सहर मारिसक्यो
यो सहर मृतहरूको हो
जय शम्भो